साइनो समाचारदाता । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले स्वदेशमै रोजगारी सिर्जना तथा वैदेशिक रोजगारीमा देखिएको बेथिति अन्त्य नै आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ ।
मन्त्रालयमा आज पदबहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा आएको सङ्कुचन, आन्तरिक श्रम बजारमा देखिएको बेरोजगारीको समस्यालाई समाधान गर्न आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो । “कोरोनाले व्यापार व्यवसाय नराम्ररी प्रभावित भएका छन्, रोजगारी कटौती भएको अवस्था छ, स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्नेतर्फ लागि पर्छु”, उहाँले भन्नुभयो ।

वैदेशिक रोजगारीमा देखिएको ठगी नियन्त्रण गर्न आफू खरोरुपमा उत्रने बताउँदै भन्नुभयो, “बाध्यताले वैदेशिक रोजगारीमा गएका वा जान लागेका युवा कुनै पनि हालतमा ठगिनु हुँदैन भन्ने मेरो मान्यता छ ।” वैदेशिक रोजगार व्यवसायीले पनि पारदर्शीरुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
रासस
















