साइनो समाचारदाता । सामुहिक बलात्कार मुद्दामा दोषी ठहर भइ अदालतबाट दश वर्ष कैद फैसला तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको राप्ती गाउँपालिका वडा नं. ३ मसुरिया निवासी २८ वर्षीय अनिल घर्तीलाई प्रहरीले शुक्रबार विहान पक्राउ गरेको हो ।
सामुहिक बलात्कार मुद्दामा घर्तीलाई सर्वोच्च अदालतले २०७३ साल असोज २७ गते दोषी ठहर गर्दै दश वर्ष १९ दिनको कैद फैसला सुनाएको थियो । सर्वोच्चको फैसला लगतै घर्ती फरार भएका थिए। फरार प्रतिवादी खोजी गर्दै जाने क्रममा घर्तीलाई राप्ती गाउँपालिकाको वडा नं. ३ स्थित पाखापानी भन्ने ठाउँमा लुकिछिपी बस्दै आएको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए।
‘फरार प्रतिवादी घर्ती लुकिछिपी बस्दै आएको भन्ने गोप्य सूचनाको आधारमा शुक्रबार विहान साढे ६ बजेतिर पुगेको प्रहरीले उनलाई पक्राउ गरेको,’ डिएसपी खड्काले भने ‘घर्तीलाई शुक्रबार नै दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराइएपछि अदालतको आदेशमा जेल चलान गरिएको छ।’
सेतोपाटीबाट
















