साइनो समाचारदाता
विराटनगर । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुनः पोजेटिभ आएको छ । कोरोना लक्षण देखिएको दुईसातापछि बिहीबार गरिएको पीसीआर परीक्षण रिपोर्ट शुक्रबार पुनः पोजेटिभ आएको प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षण हराउँदै गएकाले पुनः परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री घिमिरेको स्वकीय सचिवालयले जनाएको छ ।
रुघाखोकी लाग्ने र शरीर दुख्ने लक्षणबाहेक झाडापखाला, टाउको दुख्ने, ज्वरो आउने लगायतका समस्या भने हट्दै गएको प्रमुख स्वकीय सचिव तिलकबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार मन्त्री घिमिरेको रक्तचाप र अक्सिजनको मात्रा सामान्य छ । मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिनुअघि उहाँलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । पीसीआर परीक्षण गर्न स्वाब पठाएर उनी भदौ १३ गतेदेखि ‘होम आइसोलेसनमा’ बसेका थिए ।
















