साइनो समाचारदाता । सिन्धुलीमा प्रधानाध्यापकलाई अपहरण गरेको आरोपमा विप्लव समूहका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनिहश्रलाई तीनपाटन गाउँपालिक ८ तिल्पुङडाँडास्थित भीमसेन निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीलाई अपहरण गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूमध्ये एक जना सुनसरी धरान उपमहानगरपालिका ६ सिमलचोक बस्ने २० वर्षीया प्रतिमा परियारलाई प्रहरीले शनिबार नै पक्राउ गरेको थियो । अन्य सात जना भने आइतबार बेलुका पक्राउ परेको सिन्धुली प्रमुख प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन् । शनिबार बिहान स्कुलमा छात्रवृत्ति बाँडिरहेको अवस्थामा प्रधानाध्यापक भण्डारीलाई उनीहरूले अपहरण गरेका थिए । जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले सोही ठाउँस्थित लायो गाउँको खानीपाखा जंगलबाट भण्डारीलाई सकुशल उद्धार गरेको हो ।
शनिबार पक्राउ परेकी प्रतिमाको साथबाट दुई वटा खाली सकेट बम र एक थान सुतली बम बरामद भएको थियो । ‘हामीले अस्ति एक जना र अन्य ७ जनालाई हिजो बेलुकी पक्राउ गरेका छौं,’ सिग्देलले भनिन्, ‘उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइँदैछ।’
















