साइनो समाचारदाता
इटहरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा आज २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा बेलबारीका एक महिला र दमकका एक पुरूष रहेका छन् ।
शुक्रबार विहान ३ः१४ बजे बेलबारी नगरपालिका ५ की ५६ बर्षिया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रबत्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् । भदौ ९ गते प्रतिष्ठानमा भर्ती गराइएको उनलाइ कोसी अञ्चल अस्पताल विराटनगरबाट रिफर गराइएको थियो । अत्यधिक खोकी,ज्यरो र सास फेर्नमा समस्या देखिएको उनको बारेमा धेरै जानकारी नभएको र आफन्त संग समेत सम्पर्क हुन नसकेको सापकोटाले जानकारी दिए ।
त्यस्तै दमक नगरपालिका ३ का ८३ बर्षिया पुरूषको शुक्रबार विहान ३ः४५ बजे मृत्यु भएको थियो । उनी मृगौलाको दिर्गकालिन रोगी थिए । उनमा उच्चा रक्तचाप, मधुमेह, र अल्प रक्त कोशीकाको समेत समस्या थियो । उनलाइ भदौ ३ गते प्रतिस्ठानमा भर्ती थियो । मृतकको शव व्यवस्थापनका लागि अहिले प्रक्रिया सुरु गरिएको प्रवक्ता डा. सापकोटाले बताएका छन् । यो सँगै प्रतिष्ठानमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ
















