साइनो समाचारदाता
विराटनगर । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समयमा चलाइएको मोटरसाइकलका कारण मोरङको गछियामा दुर्घटना भएको छ । बिहीबार पश्चिमबाट पूर्वतर्फ गइरहेको ना २९ प ६९५२ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–६ गछियामा बाटो क्रस गर्दै गरेको साइकललाई मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । मोटरसाइकलले ठक्कर दिँदा साइकल चालक सुन्दहरैंचा–६ का २८ वर्षीय नवराज बराइली र पछाडि सवार ४५ वर्षीय डम्बर श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाइतेमध्ये श्रेष्ठलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याइपु¥याएपछि चिकित्सकले मध्यान्ह १२ बजे मृत घोषित गरेका हुन् ।
दुर्घटनामा परेर मोटरसाइकल चालक बाराको सिमरा–८ का ४५ वर्षीय राजकुमार पुलामी मगर पनि गम्भीर घाइते भएका छन् । घाइते अवस्थाका साइकल चालक बराइली र मोटरसाइकल चालक मगरको विराट नर्सिङमै उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ । निषेधाज्ञाको समयमा कुदाइएको मोटरसाइकलका कारण दुर्घटना भएको पाइएपछि घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
















