साइनो समाचारदाता
काठमाडौँ । प्रतिबन्धित लागूपदार्थ साढे ६ केजी अफिमसहित दुई जनालाई प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । त्रिवेणी नगरपालिका–१, जाजरकोटका २२ वर्षीय दिलिप विश्वकर्मा र भीमेश्वर नगरपालिका–६ की १८ वर्षीय प्रमिला राउत काठमाडौंको तारकेश्वर लोलाङ हाइटबाट पक्राउ परेका हुन् ।
बरामद अफिम जाजरकोटबाटै प्रतिकेजी १ लाख ५० हजारका दरले किनेर ल्याएको अनुसन्धानबाट खुलेको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए । उनका अनुसार अफिम काठमाडौँ ल्याएर प्रतिकेजी ८ लाख का दरले विक्री गर्न लागिएको अवस्थामा प्रहरीले सूचना पाएको थियो । बेच्नका लागि कालो झोलामा बोकेको अफिमसहित काठमाडौँ जिल्ला तार्केश्वर नगरपालिकाको शेषमती सानो पुल नजिकबाट उनीहरु पक्राउ परेको थापाले बताए । पक्राउ परेका विकले कारोबारमा शंका हुने देखेर बच्न राउतलाई साथमा लिएको खुलेको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















