साइनो समाचारदाता
काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पिएसओसहित ९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सात जना सशस्त्र प्रहरी रहेका छन् । पिएसओ र एक जना चालक नेपाल प्रहरीका रहेको नेपालनिकट स्रोतले जनाएको छ । बिहीबार पिसिआर परीक्षण गरिएकोमा शुक्रबार उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार सुरक्षामा खटिएका पन्ध्र जनामध्ये ९ जनामा पोजेटिभ देखिएको हो।स्वास्थ्य विभागको टोली नेपालको घरमै गएर बिहीबार स्वाब संकलन गरेको थियो । स्वाब संकलन गरिएकामध्ये नेपाल, उनका परिवार, सहयोगी, चालक सबैको नेगेटिभ देखिएको गौतमले जानकारी दिए । सशस्त्र प्रहरीका अनुसार संक्रमितहरूलाई शनिबार कीर्तिपुरस्थित आइसोलेसनमा लगिएको छ । नेपाल प्रहरीका दुई जनालाई प्रहरी अस्पताल लगिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले बताए ।
















