साइनो समाचारदाता । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत काठमाडौं भोटाहिटीकी ५८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गत साउन २८ गते अस्पताल भर्ना भएकी उनको सोमबार बिहान १० बजे मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिएका छन् ।
गेलालले भने ’उहाँलाई सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको रै’छ । उहाँमा निमोनिया, मधुमेहको पनि समस्या पनि रै’छ। उहाँको आज बिहान मृत्यु भएको हो,’ । अस्पताल भर्नापश्चात् उनमा कोरोना परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको हो । मृतक महिलाको शव नेपाली सेनाको टोलीले आजै व्यवस्थापन गर्ने तयारी गरेको छ । आइतबार पनि पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
















