साइनो समाचारदाता
पथरी । सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिका अध्यक्ष मौशम लिम्बू पक्राउ परेपछि निसर्त रिहाइको माग गर्दै इलाका प्रहरी कार्यालय पथरी घेराउ गरिएको छ । पथरीशनिश्चरे नगरपालिका—३ घर भएका ईश्वरी सापकोटालाई धाकधम्की दिएको उजुरीको आधारमा लिम्बू पक्राउ परेपछि सुकुम्बासीहरुले आज प्रहरी कार्यालय घेराउ गरेका हुन् ।
नगरपालिका कार्यालयमा भेला भई नारासहित इलाकामा पुगि अध्यक्ष लिम्बूलाई बिनासर्त रिहाइको माग गर्दै प्रहरी कार्यालय घेराउ गरेका हुन् । सापकोटाको सिमानामा पर्ने मित्रलाल राई, सुमिल योङहाङ लिम्बू र गंगा गहतराजलगायत पर्दछ । नगरपालिकाले तथ्यांक संकलनको लागि दोहोरो स्वामित्वमा रहेका जग्गाधनीहरुले दाबी पेश गर्न सूचना आह्वान गर्दा ९ कट्ठा जग्गा नपुगेको भन्दै सापकोटा परिवारले पनि फारम नगरमा बुझाएका थिए ।
२०५४ सालमा जग्गा किनेको सापकोटा परिवारले २०७२ सालमा नगरपालिकामा फारम भरेको खुलेपछि सँधियार मित्रलाल राई, सुमिल योङहाङ लिम्बू र गंगा गहतराजले सुकुम्बासी साझा संघर्ष समितिलाई कानुनी रुपमै जग्गा मिलान गरिदिन निवेदन दिएका थिए ।निवेदन आएपछि अध्यक्ष लिम्बूले सापकोटाको घरमा पुगेर सुकुम्बासीको जग्गा पास गर्दिन भनेको लिम्बूको भनाई छ । सापकोटाले लिम्बूले आफूलाई जे पनि हुन सक्छ भन्दै धम्की दिएकाले ज्यानको सुरक्षा गरिपाउँ भनी उजुरी दिएको बताएका छन् ।
उजुरीको आधारमा लिम्बू पक्राउ परेपछि तीन किलोमिटर हिँडेर पथरी आएका सुकुम्बासीहरुले प्रहरी कार्यालय घेराउ गरेका हुन् ।लिम्बू पक्राउ परेपछि नेपाली कांग्रेस क्षेत्रीय सभापति गणेश खड्का, पथरीशनिश्चरे नगर सचिव दुर्गाप्रसाद भट्टराईलगायत प्रहरी कार्यालय पथरी पुगेर डीएसपी दिलिपकुमार गिरीसँग छलफल समेत गरेका थिए । सुकुम्बासीले लिम्बूलाई तत्काल छाड्नु पर्ने माग राखेपनि जिल्ला प्रशासन कार्यालयको आदेशले पक्राउ गरिएको भन्दै छाड्न नमिल्ने बताएका छन्।
















