साइनो समाचारदाता
राजविराज । सप्तरीको राजविराजमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण अनुसार राजविराजकी एक महिलासहित १० जना संक्रमित थपीएका हुन् । योसँगै राजविराज नगरपालिकामा मात्र १५२ संक्रमित पुगेका छन् । जसमा ३७ जना महिला छन् ।
थप संक्रमितहरुमा राजविराज नगरपालिका ५ का ३, ७, ११, १५, २६, ५५ र ६३ वर्षीय पुरुष, ३७ वर्षीया महिला, राजविराज ७ का ३५ वर्षीय र वडा नम्बर ११ का ४४ वर्षीय पुरुषको रिपोर्ट कोरोना पोजिटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि बिहीबार राति आएको रिपोर्टमा सप्तरीको विष्णुपुर गाउँपालिका २ का ३२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । बिष्णुपुर गाउँपालिकामा संक्रमितको सङ्ख्या ७ जना पुगेको छ । संक्रमित सबै पुरुष रहेका छन् ।
यो सँगै सप्तरी जिल्लामा कोरोना संक्रमितको सङ्ख्या ६२७ पुगेको छ भने मृतकको सङ्ख्या ३ रहेको छ । संक्रमतिमध्ये साइकृष्ण हस्पिटल एण्ड मेडिकल कलेज राजविराजको आइसोलेसन केन्द्रमा १०६ जना, तिलाठी कोइलाडी गाउँपालिका २ स्थित आइसोलेसनमा ३४ जना र होम आइसोलेसनमा ४४ जना रहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए । राजविराजस्थित आइसोलेसन केन्द्रबाट ४४ महिला र ३९६ पुरुष गरी ४४० जना निको भई घर फर्किएको अस्पतालले जनाएको छ ।
















