साइनो समाचारदाता । कोरोना भाइरसका कारण जनकपुर उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण गिरीको निधन भएको छ । कोरोना संक्रमित गिरीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार राति निधन भएको हो । पारिवारिक स्रोतका अनुसार ७३ वर्षीय गिरी मुटु रोगी थिए ।
उनलाई कोरोना संक्रमण देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । उनका छोरा डा. सन्तोष गिरीका अनुसार पछिल्लो एक सातादेखि भेन्टिलेटरमा उपचार भइरहेका गिरीको मंगलबार राति १२ बजेतिर उनको मृत्यु भएको हो । उनका चालक र एकजना काम गर्नेलाई पनि कोरोना देखिएपछि सँगै हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो । उनीहरू दुबै जना अहिले निको भइसकेका छन् ।
गिरी २०४२ सालमा जनकपुर नगरपालिकाको मेयर बनेका थिए। उनी जनकपुर सहरकै संस्थापकमध्ये मानिने गौरीनारायण डिठ्ठाका छोरा हुन्। उनी जनकपुरको ‘होटल रामा’ का मालिक पनि हुन्। गिरीका श्रीमती र दुई छोराहरू छन्। बुवा बिरामी भएपछि जेठो छोरा डा. सन्तोष ब्रुनाइबाट आएका थिए भने कान्छा छोरा डा. कुन्दन गिरी अष्टेलियामा छन्।
















