साइनो समाचारदाता
चितवन । चितवनमा १६ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १६ सहित २१ जनामा संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन् ।
संक्रमण देखिएका मध्ये १२ जना भरतपुरका महानगरका, ३ जना राप्ती नगरपालिका र १ जना इच्छाकामना गाउँपालिकाका छन ्। अन्य ५ जना बाहिरी जिल्लाका भए पनि यहिँकै अस्पतालमा उपचाररत हुन् । भरतपुर महानगरपालिका वडा नम्बर १, ३, ४, ८, १० र ११ का ७ जना पुरुष तथा ५ जना महिला हुन् । उनीहरुको स्वाब विभिन्न अस्पतालबाट लिइएको थियो। राप्ती ६ का तीन जना भने क्वारेन्टाइनमा बसेका थिए । इच्छाकामनाका एक जनाको पनि अस्पतालबाट स्वाब लिइएको थियो ।
भरतपुर अस्पतालमा उपचाररत बाराका एक जना, क्यान्सर अस्पताल भरतपुरमा उपचाररत बैतडीका एक जना, पुरानो मेडिकल कलेजमा उपचाररत रौतहटका एक जना र तनहुँको क्वारेन्टाइनमा रहेका २ जनामा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । मंगलबार ३ सय १० वटा नमूना परीक्षण गरिएकोमा २१ जनामा कोरोना देखिएको हो ।
















