साइनो समाचारदाता
सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका जुम्ला जिल्ला सेक्रेटरीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्ला सेक्रेटरी राजबहादुर भाम (उदय) सहित तीनजनालाई पक्राउ गरेको हो । तिलागुफा गाउँपालिका ७ घोडेगाउँबाट चन्दा असुल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मुगुको सोरु गाउँपालिका ६ का जुम्ला जिल्ला सेक्रेटरी भामसहित जुम्लाको हिमा गाउँपालिका ७ धाचु नन्द तिरुवा र सोही ठाउँका सपना बुढा रहेका छन् । उनीहरुका साथबाट चन्दा असुलीको ठेली एक थान, सदस्यता फारम ठेली एक थान, केही किताबहरु, ठेकदा र स्थानीय तहका जनप्रतिनिधिको नामावलीसमेत बरामद गरिएको एसएसपी बास्तोलाले जानकारी दिए ।
















