साइनो समाचारदाता
काठमाडौं । नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको छ । इन्जिनियर साहलाई आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीलेधादिङको धुनिबेंसी नगरपालिका–८ खानीखोलाबाट आइतबार पक्राउ गरेको हो ।
उनको साथबाट स्रोत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैयाँ नगद र बैंकमा रकम जम्मा गरेको ८ लाख २२ हजार रुपैयाँको भौचर बरामद भएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । इन्जिनियर साहले खानेपानी शाखा कार्यालयहरुका विभिन्न व्यक्तिहरुसँग घुस रकम लिएर काठमाडौंतर्फ आउँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली खटिएको थियो । खानेपानी संस्थान बुटवलको लु १ ञ ९५ नम्बरको गाडीलाई रोकेर इन्जिनियर साहलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता अधिकारीले जानकारी दिए ।
















