साइनो समाचारदाता
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष वामदेव गौतमसँग भेटेका छन् । अध्यक्ष प्रचण्ड उपाध्यक्ष गौतमलाई भेट्न उनकै निवास भैंसेपाटी पुगेका हुन् । मंगलबार बिहान दुई नेताबीच भेट भएको हो ।
भैंसेपाटी पुगेका प्रचण्डलाई गौतमले आफ्नो ६ बुँदे प्रस्तावमा सहमत हुन आग्रह गरेको स्रोतले बतायो । यसअघि गत साता गौतमलाई भेट्न प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली भैंसेपाटी पुगेका थिए । भैंसेपाटीमा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित पुगेका थिए ।
साउन १३ गते उपाध्यक्ष गौतमले पार्टी विवादको समाधानका लागि ६ बुँदे प्रस्ताव राखेका थिए । प्रस्तावमा अर्को आम निर्वाचनसम्म ओली प्रधानमन्त्री र महाधिवेशनसम्म अध्यक्ष रहने रहेको थियो । त्यस्तै प्रचण्डलाई कार्यकारीको भूमिकामा काम गर्न दिने र पार्टीका बैठक धुम्बाराहीमा गर्ने लगायत थियो ।
















