साइनो समाचारदाता
विराटनगर । नापी कार्यालय विराटनगरका २ जना कर्मचारीसहित मोरङमा थप १३ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालमा आइतबार गरिएको पीसीआर रिपोर्टका क्रममा विराटनगर वडा नम्बर ७ स्थित नापी कार्यालयका २ जना कर्मचारीमा समेत संक्रमण पुष्टि भएको हो ।
नापी कार्यालयका अनुसार ३६ र ३८ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । कार्यालयका कार्यवहाक प्रमुख गणपति साहका अनुसार शुक्रबार कार्यालयमा ७ जनाको स्वाब परिक्षण गरिएको थियो । सो क्रममा उनले २ जनामा पोजेटिभ देखिएको बताए । प्रदेश १ प्रहरी कार्यालय र प्रदेश प्रहरी तालिम केन्द्रका ३० र ३२ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ । पीसीआर स्वाब संकलनका क्रममा संक्रमित दुवै जनाले ठेगाना गलत टिपाउँदा सुरुमा उनीहरु कारागार मोरङमा कार्यरत रहेको सूचना बाहिर ल्याइएको थियो ।
विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की अनुसार महानगरका विभिन्न वडामा गरेर तीन महिला नर्सिङ स्टाफ र दुई पुरुषमा संक्रमण पुष्टि भएको छ । यद्यपी बाँकी तीन जनाको ठेगाना विराटनगर मोरङ मात्र रहेको छ । यस क्रममा ग्रामथान गाँउपालिका मोरङबाट उमेर नखुलेको अवस्थामा एक पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको छ । संक्रमित देखिएको महानगरका सबैको व्यवस्थापनतर्फ लागेको कार्कीले जानकारी दिए । महानगरमा आइतबारसम्ममा एक सय २१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
















