साइनो समाचारदाता
विराटनगर । विराटनगरमा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नापी कार्यालय विराटनगरका दुईजना पुरुष कर्मचारीसहित १० जनामा कोरोना पुष्टि भएको हो । आइतबारको स्वाब परीक्षण रिपोर्ट अनुसार नापीका एकजना खरिदार र कार्यालय सहयोगी (सुरक्षा गार्ड) मा कोरोना पोजेटिभ देखिएको हो । गत शुक्रबार कार्यालयका पाँच कर्मचारीको स्वाब संकलन गरी परीक्षणका लागि कोसी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । परीक्षणका क्रममा दुईजनाको रिपोर्ट पोजेटिभ आएको नापी कार्यालयका निमित्त प्रमुख गणपति साहले जानकारी दिए ।
आइतबार विराटनगरका विभिन्न वडाका ४ महिला र ४ पुरुषमा समेत कोरोना पुष्टि भएको कोसी अस्पताल स्रोतले जनाएको छ । उनीहरुमध्ये केही अस्पतालकै स्वास्थ्यकर्मी भएको जनाइएको छ । अस्पतालले थप विवरण आउने क्रममा रहेको जानकारी दिएको छ । यता थप दुईजनाको रिपोर्ट पनि पोजेटिभ आएको स्रोतले जनाएको छ । उनीहरुको ठेगाना विराटनगर कारागार भनिएपनि कारागार प्रशासनले त्यसबारे कुनैपनि जानकारी नआएको बताएको छ ।
कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले कारागारमा आउने कैदी तथा थुनुवाहरुलाई अनिवार्य रुपमा पिसिआर परीक्षण गरेरमात्रै ल्याइने व्यवस्था रहेको बताए । तर आफुलाई अहिलेसम्म कसैलाई पनि कोरोना पोजेटिभ भएकोबारे जानकारी नआएको स्पष्ट पारे । कोसी अस्पलतालमा आइतबार १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमध्ये एकजना उमेर नखुलेका पुरुषको ठेगाना ग्रामथान गाउँपालिका उल्लेख भएको जनाइएको छ ।
















