साइनो समाचारदाता
घोराही । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुससहित पक्राउ परेका छन् । उपाध्यायलाई १ लाख २४ हजार ७५० रुपैयाँ नगद र फिक्स डिपोजिट तथा बैंक डिपोजिटसहित १३ लाख २४ हजार ४६ गरी कूल १४ लाख ४८ हजार ७९६ रुपैयाँ बराबरको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उपाध्यायले स्रोत नखुलेको अस्वाभाविक रकम साथमा लिएर हिँडेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले काठमाडौंको नागढुंगाबाट उनलाई नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
















