साइनो समाचारदाता
काठमाडौँ । ’इनफ इज इनफ’ अभियानका पाँच जना अभियन्ताहरू आज पक्राउ परेका छन् । आज दिउँसो गृह मन्त्रालयमा प्रवेश गर्नका लागि सिंहदरबारको दक्षिण गेटमा भेला भएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरिबहादुर बस्नेतका अनुसार उनीहरू निषेधित क्षेत्रमा भेला भई भित्र प्रवेश गर्न खोजेपछि पक्राउ परेका हुन् । ’निषेधित क्षेत्रमा भेला भई सिंहदरबार प्रवेश गर्न लाग्दा पक्राउ परेका हुन्,’ बस्नेतले भने,’उनीहरूलाई पुलिस क्लबमा लगिएको छ ।’ अभियन्ताहरू गृह मन्त्रालयमा सूचनाको हकको निवेदन दर्ता गराउन गएका बेला पक्राउ परेको विवेकशील नेपालीका अध्यक्ष मिलन पाण्डेले जानकारी दिए ।
’५ जना अभियन्ता साथीहरूलाई प्रहरीले गैरकानुनी हिसाबले पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको छ । अभियान्ता साथीहरूले सोही स्थानबाट अनसनको घोषणा गर्नुभएको छ,’उनले ट्वीटरमा लेखेका छन् । पक्राउ परेका अभियन्ताहरूले प्रहरीलाई नाम पनि नबताएको डिएसपी बस्नेतले जानकारी दिए ।
















