साइनो समाचारदाता
विराटनगर । कोरोना संक्रमित व्यक्ति रिपोर्ट लिन विराटनगर महानगरपालिकाको कार्यलयभित्र पुगेपछि कर्मचारीको भागाभाग भएको छ । मंगलबार संक्रमण पुष्टि भएका व्यक्ति दिउँसो कार्यालय समयमा प्रवेश गरेपछि भागाभाग भएको हो । रिपोर्ट लिन आएका व्यक्ति सिधै स्वास्थ्य महाशाखामा पुगेका थिए । कर्मचारीले लिष्ट हेर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको देखिएपछि भागाभाग भएको हो ।
विराटनगर महानगरपालिका जनस्वास्थ्य निरीक्षक हैदर अलीले जनाए अनुसार संक्रमण पुष्टि भएका व्यक्ति आएपछि उनलाई कोभिड १९ अस्पताल पठाइएको छ । महानगरपालिका स्रोतका अनुसार कोरोनाको रिपोर्ट लिन आउने व्यक्ति विराट नर्सिङहोम (विराटनगर अस्पताल) का सञ्चालकको घरमा काम गर्ने कामदार हुन् । उनी दिउँसो करिब १२ बजे विराटनगर बजार हुँदै रिपोर्ट लिन पुगेका थिए ।
संक्रमित व्यक्ति रिपोर्ट लिन पुगेपछि महानगरपालिकाले सूचना निकालेर पाँच दिनपछि मात्र रिपोर्ट लिन सम्बन्धित वडा कार्यालय र प्रयोगशालमा जान आग्रह गरेको छ । मंगलबार मात्र विराटनगरमा १६ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये ७ जना विराट नर्सिङहोमका कर्मचारी हुन् ।
















