साइनो समाचारदाता
धरान । धरान स्थित पालिका बजारमा आगलगी हुँदा ११ वटा पसल जलेर नष्ट भएका छन् । आज सोमवार विहान ४ः३० बजे धरान उपमहानगरपालीका ३ स्थित पालीका बजारमा आगलगी हुँदा कल्पना तामाङ्ग, रमा चौहान खतिवडा, अनिता आचार्जु, वसिम श्रेष्ठ, ज्ञानकुमार श्रेष्ठ, प्रविना लिम्बु, इन्दिरा श्रेष्ठ, मिरा निरौला, सुरेन्द्र चौधरी, लालबहादुर राई र यामकुमार विकको पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताएका छन् । आगलागिमा करिव ५२ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
धरान उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानियको सहयोगमा आगलागि नियन्त्रणमा लिइएको थियो । स्थानीयहरुले भने दमकल समयमा नआएकै कारण ठूलो क्षति भएको बताएका छन् । पालिका तरकारी बजारमा फलफुल तथा कोल्डड्रिंग्स पसल सञ्चालन गरेकी ज्ञानु बस्नेतले आगलागीबाट आफूहरुको व्यापार व्यवासय नै सखाप भएको बताएका छन् । सोही स्थानमा कस्मेटिक दोकान सञ्चालन गर्दै आइरहेका रमा चौहान खतिवडा र सविना वेघा खनालले आफूहरुको मात्र आगलागीबाट ८ देखि १० लाख रुपैया क्षति भएको बताए । उनीहरुले समयमै दमकल आइदिएको भए यती ठूलो क्षति नहुने बताएक छन् । आगलागीबाट आफूहरुको सर्वस्व गुमेको र गरिखाने बाटो नै सकिएको पीडितहरुले बताएका छन् ।
















