साइनो समाचारदाता
काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज (शुक्रबार) बिहान पनि छलफल भएको छ । ओलीसँग छलफल गर्न प्रचण्ड ११ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । बालुवाटारमा दुई अध्यक्षबीच झन्डै दुई घन्टा कुराकानी भएको थियो । १३ गते बस्ने स्थायी समिति बैठक कसरी सञ्चालन गर्ने विषयमा दुई अध्यक्षबीच आज छलफल भएको स्रोतले बतायो ।
नेकपामा पछिल्लो समय प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले पार्टी र सरकार हाँक्न नसकेको भन्दै राजीनामा मागेका छन् । तर ओलीले भने दुबै पदबाट राजीनामा दिनुपर्ने उनीहरूको माग अस्वीकार गर्दै आइरहेका छन् । यही विवादको कसरी समाधान गर्ने भन्नेबारे दुई अध्यक्षबीच पटक पटक कुराकानी भएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले मंसिरमा पार्टी महाधिवेशन गरेर प्रचण्डलाई एकल अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् । प्रचण्डले भने उक्त प्रस्तावमा आफू सहमति नभएको नेपालपक्ष र आफूनिकट स्थायी समिति सदस्यलाई स्पष्टिकरण दिएका छन् ।
साउन १३ गतेका लागि नेकपा स्थायी समिति बैठक बोलाइएको छ । यसैबीच प्रचण्डसँगको भेटअघि प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि बालुवाटारमा कुराकानी गरेका थिए । ओली र देउवाको भेटमा भएको कुराकानीबारे खुलाइएको छैन । दुई नेताबीच बिहीबार पनि भेट भएको थियो ।
















