साइनो समाचारदाता
पथरी । समाजमा मानिसहरुको अध्यायन प्रतिको रुचि बढे संगै ठाउँ ठाउँमा पुस्तकालय तथा ईलाइब्रेरी स्थापना हुन थालेको छ । मोरङको पथरीशनिश्चरे १ मा रहेको सुनाखरी मा.वि.ले समुदायलाई समेत लक्षित गरी ई लाईब्रेरी र पुस्तकालयको स्थापना गरेको छ । विद्यार्थी र अन्य मानिसको समेत व्यस्त समयको सदुपयोग गर्न र ज्ञान बढाउने उद्धेश्यले सुनाखरी मा.विले ई लाइब्रेरी र पुस्तकालय प्रयोगमा ल्याएको बताएको छ ।
२०४९ सालमा स्थापना भएको विद्यालयमा कक्षा १० सम्म अध्यापन हुँदै आएको छ । समाजमा अध्ययनको महत्व बढेसंगै विद्यालयले २ गते शुक्रबारका दिन लाइब्रेरी तथा पुस्तकालयको उद्घाटन गरेको छ । लाइब्रेरी तथा पुस्तकालयको उद्घाटन गर्दै संबिधानसभा सदस्य चन्डिप्रसाद राईले स्कुललाई यो स्थानमा ल्याउन सहयोग गर्ने शैक्षिक अभियन्ता प्रदिपकुमार राईको प्रशंसा गर्दै लाइब्रेरी तथा पुस्तकालयमा आएर पुस्तक पढ्ने बानिले समाजमा सकारात्मक सन्देश दिने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्रीका जनसम्पर्क संयोजक रामकुमार बस्नेतले स्कुललाई आफुले सक्ने सहयोग गर्ने बताउनु भयो । विद्यालयमा ६ वटा कम्प्युटरद्धारा ई–लाइब्रेरी र कक्षा १० सम्मको पाठ्यसामग्री रहेको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा शैक्षिक अभियान्ता प्रदीपकुमार राईले बताउनुभयो । विद्यालयका नियमित पाठ्यक्रमबाहेक समुदायका लागि अर्थशास्त्र, विज्ञान, राजनीति, साहित्य, कृषिलगायतका ७ सय पुस्तकहरू रहेका छन ।
उद्घाटन कार्यक्रममा पथरीशनिश्चरे नगरप्रमुख दिलिपकुमार राई, नगर शिक्षा शाखा प्रमुख शालिकराम काफ्ले, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरी, समाजसेवी तुलसी ढकाल लगायतले शुभकामना दिनुभएको थियो ।
















