साइनो समाचारदाता
धनकुटा । केही दिनको भारी वर्षाका कारण लेउती र गर्जुवा खोलामा आएको बाढीका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–७ गर्जुवा गाउँको बस्ती जोखिममा परेको छ । दुवै खोलाको संगम स्थलमा ९ घर रहेको बस्ती छ । खोलामा आएको बाढीले घरनजिकै छेउको जमिन धमाधम कटान गर्न थालेका कारण आफुहरु त्रसित बनेको स्थानीय वासिन्दाको भनाइ छ ।
खोलामा पानीको बहाव बढिरहेको छ । स्थानीयमा त्रास रहेको स्थानीय यामबहादुर राईको भनाइ छ । उनको शौचालयसमेत बगाइसकेको छ भने घर जोखिममा छ । केही स्थानीय आफन्तको घरमा सर्न थालेका छन् । बस्तीमा रहेको घरपरिवारका बासिन्दा लेउती खोलामा बालुवा चालेर जीविकोपार्जन गर्ने मजदुर हुन् । गर्जुवा खोलामा माटोसहित आएको बाढीले धरान–धनकुटा कोशी राजमार्गसमेत पटक पटक अवरुद्ध गरेको डिभिजन सडक कार्यालयका सुपरभाइजर अमृता राईले बताइन् । पानी पर्नेबित्तिकै गर्जुवाको शिरमा पहिलो जाने गर्छ। सोही पहिरोको माटो खोलाले बगाउँदा राजमार्ग अवरुद्ध हुने गरेको उनको भनाइ छ ।
सडक डिभिजन कार्यालयले बाटोको पहिरो पन्छाउन डोजर परिचालन गरेको छ । पहिरोले छिनछिनमै बाटो अवरुद्ध गरिरहन्छ । खोलामा रहेको होमपाइप पुरिएपछि बाढीको माटो सडकमा थुप्रिने गरेको छ। गर्जुवाभन्दा केही पर रहेको सिस्नेमा पनि बाढीको जोखिममा छ । गाउँभन्दा मास्तिर कोशी करिडोरको बाटो निर्माणाधीन छन् भने तल कोशी राजमार्ग। कोशी करिडोरको माटो पानीले बगाएर बस्ती हुँदै कोशी राजमार्गमा ल्याएर थोपारिने गर्छ । थुप्रिएको माटो सडक डिभिजनको डोजरले पन्छाएर सडक सुचारु गर्ने गरिएको सुपरभाइजर राईले बताइन् ।
















