साइनो समाचारदाता
विराटनगर । खोला नियन्त्रणमा जिम्मेवार बन्न सरकारसँग प्रदेश नं. १ का नेपाली काङ्ग्रेस सचेतक सुयर्माराज राईले आग्रह गरेका छन् । उनले आइतबार शुन्य समयमा समय लिएर बोल्दै चिसाङ खोलामा मापदण्ड विपरित जथाभावि दोहन हुँदा खोला किनारमा बसोवास गरिरहेका सर्वसाधरण विस्थापित भएको बताए ।
जन प्रतिनिधिहरूकै प्रत्यक्ष सहभागितामा खोला दोहन हुने गरेको बताउँदै खोलाले उठीबास लगाएका परिवारलाई अविलम्ब राहत उपलब्ध गराउन सचेतक राइले आग्रह गरे । राज्यले खोलाबाट हरेक वर्ष करोडौं राजश्व उठाए पनि खोला किनारका मानिसहरूलाई ब्यवस्थित बसोवास गराउन नसक्दा वर्सेनि ठूलो क्षति हुने गरेको उल्लेख गर्दै उनले चिसाङ लगायतका खोलाको स्थायी तटबन्धमा ध्यान पुर्याउँन सरकारको ध्यानाकर्षण गराउँदै खोला दोहनमा संलग्न जनप्रतिनिधिहरूको पहिचान गर्न आग्रह गरे ।
संसदमा ध्यानाकर्षण गराए लगत्तै राईले खोलाले क्षति पु¥याएको क्षेत्रको अवलोकन गरेका थिए । कानेपोखरी–५ को दुखीटोल र चिसाङ बस्ती पुगेर पीडितहरूसँग भेटघाट गर्दै पीडितहरूसँग खोलाको स्थायी तटबन्धका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइरहेको जानकारी गराएका थिए ।
















