साइनो समाचारदाता काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई पार्टी सभापति शेरवहादुर देउवाले निर्देशन दिएका छन् । उनले आफ्नो ट्विटरमा ट्विट गर्दै उक्त निर्देशन दिएका हुन् । सभापति देउवाले सरकारलाई पनि छिटोभन्दा छिटो उद्धार टोली परिचालन गर्न आग्रह गरेका छन् ।
देउवाले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’ सिन्धुपाल्चोकमा आएको बाढीले बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ । दुई जनाको शव भेटिएको छ भने केही बेपत्ता छन् । नदी किनारका घरहरु बाढीले बगाएको छ । अरनिको राजमार्गमा पर्ने पक्की पुल र बाटो समेत बाढीले बगाएपछि आवत–जावत अवरुद्ध भएको छ ।
















