साइनो समाचारदाता
विराटनगर । मंगलबारसम्ममा कोरोना (कोभिड १९) बाट ४ सय ७९ जना डिस्चार्ज भएका छन् । ५८ महिला र ४ सय २१ पुरुष निको भएर डिस्चार्ज भएको हो । अब २ सय ६ जना संक्रमित निको हुन बाकी रहेको छ ।
आज विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट थप ११ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार ७ वर्षदेखि ५४ वर्ष उमेर समुहका ११ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा झापाका ७ जना र सुनसरीका ४ जना छन । यो सँगै प्रतिष्ठानबाट कोरोना मुक्त भएर घर फर्कनेको संख्या २११ पुगेको छ ।
मुख्यमन्त्री मन्त्रिपरिषद्को कार्यालय विराटनगरले अहिलसम्म प्रदेश नम्बर १ मा ६ सय ८५ जनामा संक्रमित भएको जनाएको छ । संक्रमित मध्ये १ सय १४ जना महिला रहेका छन् । आज मात्र ९ जना संक्रमित थपिएको छ । विराटनगरका ६ जनासहित सुनसरीका २ जना र झापाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. १ ले कोभिड १९ सम्बन्धी जानकारी प्रकाशित गर्दै झापामा सबैभन्दा बढी २ सय ८३ जनामा संक्रमण देखिएको छ ।
प्रदेश १ मा सुखद समाचार छ । प्रदेशका तेह्रथुम, भोजपुर र सोलुखुम्बु संक्रमण मुक्त भएको छ । भोजपुरमा ६ जना, सोलुखुम्बुमा १ जना र तेह्रथुमका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित सबै डिस्चार्ज भइसकेका छन ।
















