साइनो समाचारदाता
विराटनगर । शनिबारसम्ममा कोरोना (कोभिड १९) बाट ६ सय ६५ संक्रमित भएको पुष्टि भएको छ । मुख्यमन्त्री मन्त्रिपरिषद्को कार्यालय विराटनगरले १ सय १० महिला र ५ सय ५५ पुरुष संक्रमित भएको जनाएको छ । झापामा सबैभन्दा बढी २ सय ७६ जना र त्यसपछि मोरङमा १ सय ७२ जनामा कारोना लागेको हो ।
शनिबार प्रदेश १ मा थप १२ जनामा कोरोना पुष्टि भएको छ । नयाँ संक्रमितमध्ये मोरंगमा ६, झापामा ५ र इलाममा १ जना छन् । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ३ महिला, २ पुरुष, सुन्दरहरैचामा १ पुरुष, झापाको कचनकवलमा ४ पुरुष, कनकाईमा १ पुरुष र इलामको देउमाईमा १ पुरुष छन् ।
डिस्चार्ज हुनेको संख्या ४ सय ५७ पुगेको छ । ती मध्ये ४५ महिला र ४ सय १२ पुरुष रहेका छन् । यो १४ जिल्ला समेटिएको प्रदेश १ तथ्यांक हो । प्रदेश १ मा उपचार गरिरहेका ३६ जना शनिबार कोरोना मुक्त भई अस्पतालबाट घर फर्किएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँमा उपचारत डिस्चार्ज भएका हुन् । मोरंगका २४, झापाका ११ र सुनसरीका १ जना उपचारपछि ठीक भएर घर फर्किएको रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उपचारपछि निको हुनेमा १३ वर्षदेखि ६० वर्ष उमेर समूहका छन् ।
















