
दिलकुमार लावती
दमक । फुःलेन्देको बाउ उपनामले परिचित मौसम लिम्बूद्वारा आयोजित २ महिने अन्तराष्ट्रिय लिम्बू टिकटक प्रतियोगिता इलाम माङ्सेबुङ् गाउँपालिकाकी युनिशा साँबाले जितिन् । प्रथम पुरस्कार विजेता साँबाले नगद २० हजार हात पारिन् ।
विश्व नै कोरोनाबाट आक्रान्त बनेको बेला गत वैशाख १५ गतेबाट फूलन्देको बाउ नामको फेसबुक पेजको एडमिनबाट संचालन भएको टिकटक प्रतियोगिता असार १५ गते साँझ सम्पन्न भएको हो । प्रतियोगिताको दोस्रो पुरस्कार धरान–१० की हाङ्सु आङबुहाङ् र तेस्रो पुरस्कार शिवसताक्षी, झापाका समिर जवेगुको ग्रुपले हात पारेका छन् । दोस्रोले १० हजार र तेस्रो विजेताले ७ हजार ५ सय रुपैयाँ प्रात गरेका छन् ।
सान्त्वना पुरस्कार ५ हजार रुपैयाँ भने मिक्लाजुङ्, पाँचथरका ओसिन आङ्देम्बे लिम्बुको समूहले प्राप्त गरेका छन् । त्यसैगरी जुरी तर्फ ३ वटा समूहहरु लिम्बू ब्वाईज ग्रुप, भारत, सिक्किमलाई सर्वोत्कृष्ट टिकटक नृत्य, दिलमाया पन्धाक लिम्बू समूह बुद्धशान्ति झापालाई सर्वोत्कृष्ट कोरियोग्राफी र तुलसा नेम्बाङ्को समूह पथरीशनिश्चरे, मोरङ्लाई सर्वोत्कष्ट टिकटक भिडियो घोषणा गरी प्रत्येक समूहलाई १० हजार रुपैयाँ र तेह्रथुमे ढाका बुटिक नखिपोट ललितपुरको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।
टिकटिक प्रतियोगितालाई प्रोत्साहन गर्न विभिन्न व्यक्तित्वहरुले नगद प्रायोजन गरिएका आयोजक मौसम इम्बुङ्ले बताएका छन् । बेलायतमा कार्यरत नेम खापुङ् र एन जे माबोहाङ्बाट ५९ हजार नगर सहयोग गरिएको प्रतियोगिताका लागि तेह्रथुमे ढाका बुटिकबाट मायाको चिनो, इजारायलबाट नुमा काङ्भा र आईतरानी फाउण्डेशनका गायक, संगीताकार सुजन तिगेला र हङ् कङ् मा कार्यरत चिना वनेमद्वारा गैर लिम्बू प्रतियोगी सम्पूर्णलाई मायाको चिनो प्रदान गर्ने भएको छ ।
लिम्बू भाषा, संस्कृतिको जगेर्नासँगै सांस्कृतिक रुपान्तरण हाम्रो अभियान भन्दै शुरु गरिएको अन्तराष्ट्रिय लिम्बू टिकटक प्रतियोगिताले संसारभर छरिएर रहेका भाषाप्रेमीहरुलाई सामाजिक संजाल मार्फत भेट्ने अवसर मिलेको कार्यक्रमका आयोजक कलाकार तथा निर्देशक मौसम इम्बुङ् फूरुलेन्देको बाउले बताएका छन् । प्रतियोगितामा ५ सय भन्दा धेरै टिकटकहरु मध्येबाट १ सय पचहत्तरवटा टिकटकहरु अपलोड् भएका थिए । टिकटक अपलोड भएको १ महिना अवधिमा सबैभन्दा धेरै लाईक, सेयर र भ्यूज पाउने भिडियो नै विजेता बनेका हुन् ।
















