साइनो समाचारदाता बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीका लीलाधर भट्ट क्वारेन्टिनमै आफ्ना बुबाको किरियामा बसेका छन् । भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनअघि फर्केर भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा थिए । ६ दिनअघि उनका बुबा चिन्तामणि भट्टको मृत्यु भएकाले उनले क्वारेन्टिनमै किरिया सुरु गरेका हुन् । केही दिनअघि कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरी उनलाई गाउँपालिकाको क्वारेन्टिनमा ल्याइएको थियो ।
उनलाई घरमै बस्ने व्यवस्था मिलाउन गाउँपालिकालाई अनुरोध गरेको भए पनि घर पठाउन नमानेको स्थानीयवासी केशव भट्टले जानकारी दिए । भारतबाट आएका सबै नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्नुपर्ने निर्देशनानुसार नै उनलाई क्वारेन्टिनमा राखेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए । लीलाधरको स्वाब सङ्कलन गरी पीसीआर विधिबाट परीक्षणका लागि पठाइएको र १४ दिनअघि नै रिपोर्ट नेगेटिभ आए घर पठाइने उनले बताए । यसअघि गत जेठ दोस्रो साता बैतडीको मेलौली नगरपालिका ७ पच्कोराका रामसिंह रावत पनि आफ्ना बुबाको किरिया क्वारेन्टिनमा बसेका थिए ।
















