साइनो समाचारदाता सुर्खेत । कर्णाली प्रदेश सरकारले रुकुम घटनामा मृत्यु भएकाहरुको परिवारलाई एक लाख रुपैयाँ राहात दिने निर्णय गरेको छ ।
घटनामा ज्यान गुमाएका जाजरकोटका ६ जनाका परिवारलाई एक लाखका दरले राहत दिइने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । ‘उहाँहरुको परिवारलाई राहत दिन मन्त्रिपरिषदको बैठकमा यो निर्णय गरेका छौं, उनले भने, ‘त्यसले परिवारको पीडामा मल्हमपट्टी गर्ने हाम्रो अपेक्षा छ ।’ रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनामा जाजरकोटका ६ जनाको मृत्यु भएको थियो । जसमा भेरी नगरपालिका जाजरकोटका नवराज विक, गणेश विक, सन्दिप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीले ज्यान गुमाएका थिए ।
















