
साइनो समाचारदाता
काठमाडौं । सोमबार राति थप १८ जना मध्ये कर्णाली प्रदेशको दैलेखका एक पुरुषमा पनि संक्रमण भएसँगै नेपालका सातै प्रदेशमा कोभिड १९ भएको पुष्टी भएको छ । यस अघि कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धुनषा निवासी २ पुरुषहरु, खोटाङ, हलेसी निवासी १ जना पुरुष, बाँकेको नैनापुर निवासी १२ जना पुरुषहरु, दैलेख आठबिस–१ निवासी १ जना पुरुष, सुनसरी निवासी १ जना पुरुष र झापा निवासी एक जना पुरुष रहेका छन् । हालसम्म प्राप्त विवरण अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको छ । योसँगै संक्रमितको संख्या ३ सय ७५ पुगेको छ। हिजो बिहान ९ जना, दिउँसो ५३ जनामा कोरोना संक्रमण देखिएको थियो। सोमबार एकैदिन ८० नयाँ संक्रमित थपिएका हुन्। यसअघि एकैदिन सर्वाधिक ८३ जनामा संक्रमण देखिएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा १ लाख ३ सय १ जनाको कोभिड १९ को परिक्षण गरेको जनाएको छ । सोमबार राति १०ः१५ वजेसम्ममा पिसिआरबाट ३० हजार ७ सय ४१ र आरडिटिबाट ६९ हजार ५ सय ६० जनाको परीक्षण गरेको हो । मन्त्रालयको अनुसार पीसीआर परीक्षण गरिएको मध्ये ३० हजार ३ सय ६६ जनामा सक्रमण देखिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको तथ्याङ्कमा २० हजार ९० जना क्वारेन्टाइनमा रहेको, ४ सय १३ जना आइसोलेसनमा रहेको, ३६ जना निको भएको र २ जनाको मृत्यु भएको उल्लेख छ । विश्वभरमा ४५ लाख ८९ हजार ५ सय २६ जनामा संक्रमित देखिएको छ । ३ लाख १० हजार ३ सय ९१ जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
















