
साइनो समाचारदाता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान प्रेस विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोभिड १९ पुष्टी भएको जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणले उनीहरूमा कोरोनाको संक्रमण पुष्टि गरेको हो। संक्रमित हुनेमा ८ पुरुष र एक महिला रहेका छन्। रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २,३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहटकै माधव नारायण नगरपालिका ३ की २८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बाराको करैयामाई– ५ निवासी ३८ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ। संक्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता डा.समिर कुमार अधिकारीले जनाए ।
मन्त्रालयको अनुसार नेपालमा हालसम्ममा २८ हजार १ सय ७२ जनाको पीसीआर परीक्षण गरिएको मध्ये २७ हजार ८ सय ६८ जना सक्रमण देखिएन । आरडीटीबाट ६७ हजार ७ सय ६९ जनाको परीक्षण गरिएको छ । आजसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको तथ्याङ्कमा १८ हजार ३ सय ५७ जना क्वारेन्टाइनमा रहेको, ३ सय ४६ जना आइसोलेसन रहेको र ३६ जना निको भएको र २ जनाको मृत्यु भएको उल्लेख छ । विश्वभरमा ४५ लाख ३४ हजार ७ सय ३१ जनामा संक्रमित देखिएको छ । ३ लाख ७ हजार ५ सय ३७ जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
















