साइनो समाचारदाता
विराटनगर । आइतबार विराटनगर र धनकुटामा कोरोना संक्रमित भेटिएपछि ती स्थानमा सिल गरिएको छ । विराटनगरमा २ र धनकुटामा १ जनालाई कोरोना संक्रमण देखिएको थियो ।
धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीया महिला र धनकुटाकी ३४ बर्षीया महिलामा कोरोना भाइरसको पुष्टि भएकोथियो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता डा.समिरकुमार अधिकारीले जनाए । विराटनगरमा संक्रमण पुष्टि भएका पुरुष महानगरपालिकाका सफाइ कर्मचारी हुन् भने महिला पाँच दिनअघि भारतबाट आएकी थिइन् । विराटनगर महानगरपालिकाको वडा नं ६ र १५ मा हिँडडुलमा प्रतिबन्ध लगाएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए । संक्रमणको जोखिम बढेपछि अर्को सूचना जारी नभएसम्म अतिआवश्यकबाहेक अन्य सेवा बन्द गरिएको बताइएको छ ।
त्यस्तै धनकुटाको बजार क्षेत्र सिल गरिएको छ । स्थानीय प्रशासनले धनकुटा नगरपालिका ७ को भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रदेखि बसपार्क, जिरो प्वाइन्ट, परिचय मोड, यलम्बर चोक, सिनेमा हल, याक्चाना घाट जाने त्रिवेणी चोकसम्मको चारकिल्ला कायम गरी सिल गरेको हो ।

















