साइनो समाचारदाता
काठमाडौं । कोभिड १९ बाट संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको हिजो राति पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुष्टि गर्यो । धुलिखेल अस्पतालमा पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिएपछि पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। टेकुमा गरिएको परीक्षणमा पनि मृतकमा कोरोना पोजेटिभ देखिएको थियो ।

धुलिखेल अस्पतालमा मृत्यु भएकी ती महिलाको शव एम्बुलेन्समार्फत पशुपति आर्यघाट ल्याइएपछि विद्युतीय शवदाह गृहमा शव जलाइएको हो । धुलिखेलबाट इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली, नेपाली सेनाका दुई जना प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका एक प्रतिनिधि तथा परिवारका सीमित सदस्य आर्यघाट पुगेका थिए । महानगरीय प्रहरी बृत्त गौशालाको प्रहरी पनि पशुपति पुगेको उच्च स्रोतले बतायो । मन्त्रालयका अनुसार मृतक महिला ८ दिनकी सुत्केरी हुन् । उनले त्रिवि शिक्षण अस्पतालमा वैशाख २४ गते शिशुको जन्म दिएकी थिइन् भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् । तर घर गएपछि उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासमा पनि समस्या देखिएपछि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ कोरोनाको आशंका गर्दै धुलिखेल अस्पतालमा रिफर गरिएकोमा बाटैमा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिले मृतकको घर र माइती दुबै ठाउँ सिल गरिएको छ।
















