साइनो समाचारदाता
काठमाडौं । नेपालमा शुक्रबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा थप ९ जनामा संक्रमण भेटिएको शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५,२५ ,२७, ३२ र ३६ वर्षीय पुरुषहरु रहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । २२ हजार ६ सय ७३जनाको पीसीआर परीक्षण गरिएको मध्ये २ सय ५८ संक्रमित भएको पुष्टि भएको हो । आरडीटीबाट ६२ हजार ३ सय २७ जनाको परीक्षण गरिएको छ ।
आजसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको तथ्याङ्कमा १५ हजार ६ सय क्वारेन्टाइनमा रहेको, २ सय ७२ जना आइसोलेसन रहेको र ३५ जना निको भएको उल्लेख छ । हालसम्म नेपालमा कोरोनाबाट कसैको मृत्यु भएको छैन । विश्वभरीको कोरोना रिपोटविश्वभरीमा ४१ लाख ७९ हजार ४ सय ७९ जनामा संक्रमित देखिएको र २ लाख ८७ हजार ५ सय २५ जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
















