साइनो समाचारदाता
काठमाडौ । नेपालमा ८१ हजार ६ सय ५९ जनाको कोरोना (कोभिड १९) को परीक्षण गरिएको छ । यो आजसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको तथ्याङ्क हो । परीक्षणको दुई विधि मध्ये पीसीआरबाट २१ हजार ३ सय ४० जनाको र आरडीटीबाट ६० हजार ३ सय १९ जनाको परीक्षण गरिएको हो । मन्त्रालयको वेव साइट अनुसार हालसम्ममा आरडीटी परीक्षण मध्ये २१ हजार १ सय २१ जनामा संक्रमण देखिएको छैन । त्यस्तै १४ हजार ३ सय १३ जना क्वारेन्टाइनमा रहेको, २ सय ४५ जना आइसोलेसन रहेको र ३५ जना निको भएको मन्त्रालयले जनाएको छ ।
आज दुई थपियो संक्रमित
बुधबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तु र बाँकेमा थप १÷१ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– ८ का ३६ वर्षका पुरुष र कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जनाए । बाँकेका युवकको धुलिखेल अस्पतालको प्रयोगशालामा र कपिलवस्तुका युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पीसीआर परीक्षण गरिएको थियो । उनीहरु दुबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । हिजो मंगलबार मात्रै ८३ जना संक्रमित थपिएको थियो ।
कुन जिल्लामा कति संक्रमित ?
मन्त्रालयकाअनुसार पर्सा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने उदयपुरमा ३०, मोरङमा २, कपिलवस्तुमा ३०, बाँकेमा २५, रुपन्देहीमा १६, काठमाडौंमा ४, धादिङ २, कैलालीमा ४, बारामा ३, धनुषामा ३, रौटहटमा ३, बागलुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २, भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, सप्तरीमा १ र सर्लाहीमा १ जनामा पुष्टि भएको छ ।
विश्वभरीको कोरोना रिपोट
विश्वभरीको कोरोना रिपोटविश्वभरीमा ४० लाख ९८ हजार १८ जनामा संक्रमित देखिएको र २ लाख ८३ हजार २ सय ७१ जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

















