साइनो समाचारदाता
पथरी । लायन्स/लियो क्लव अफ पथरी र लायन्स/लियो क्लव अफ पथरी योङ हार्टले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा १ सय ४५ जनाले रगत दान गरेका छन् ।

नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा मोरङको प्राविधिक सहयोगमा सोमबार २ ठाउँमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । पथरी शनिश्चरे–५, भोटेघुम्ती भएको रक्तदानमा ८८ जनाले र पथरी शनिश्चरे–९, शनिश्चरे बजारमा भएको रक्तदानमा ५७ जनाद्वारा रक्तदान गरेको लायन्स क्लव अफ पथरी योङ हार्टका द्वितीय उपाध्यक्ष–लायन गणेश बाछानाले जनाए ।

कार्यक्रम पथरी बहुमुखी क्याम्पस, भोटेघुम्ती कृषि सहकारी संस्था लि., कुटो कोदाली कृषि सहकारी संस्था लि., सुनदह बचत तथा ऋण सहकारी संस्था लि., सुनौलो विहानी युवा क्लव र फुङ्नाम चेस क्लव सह–आयोजनामा भएको थियो । रक्तदान कार्यक्रममा नगर प्रमुख दिलिप कुमार राई, नगर स्वास्थ्य संयोजक मुरारी आचार्यलगायत राजनीतिकर्मी, समाज सेवी, वुद्धिजिवी उपस्थिति रहेको लायन्स क्लव अफ पथरी योङहार्टका अध्यक्ष राजेन्द्र बस्नेतले जानकारी दिए ।
















