साइनो समाचारदाता
विराटनगर । कोशी अस्पताल विराटनगरमा उपचाररत ६ जना कोरोना संक्रमित निको भएर बुधबार डिस्चार्ज भएका छन्। उनीहरुको डिस्चार्ज गर्दा प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरे समेत अस्पतालमा उपस्थित थिए।

संक्रमित पछिल्लो तीन पटकको स्वाबको नमूना परीक्षण गर्दा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा संगीता मिश्राले बताइन्। कोरोना उपचार केन्द्रमा उपचाररत ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद डिस्चार्ज भएका हुन् । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका उनीहरु वैशाख ५ गते कोरोना संक्रमणको पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो। वैशाख ५ र ६ गते भुल्केस्थित मस्जिदमा रहेका १३ भारतीयमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरुमध्ये ६ जना निको भएर डिस्चार्ज भएका हुन्। उनीहरुलाई विराटनगरस्थित रानीको मर्कजमा पुर्याइएको बताइएको छ।डा मिश्रले मरकजमा अस्पतालले पुर्याएर फर्किएको र उनीहरु १४ दिन त्यही बस्ने र अस्पतालले फलोअप गर्ने जनाइन् । कोशीमा अब २५ जना संक्रमितको उपचार भइरहेको छ।
















