
साइनो समाचारदाता
पथरी । विश्व किरात महासंघ नेपाल र किरात धर्मका संरक्षक गुरु लाफयङ देव बहादुर तुम्बापोको सोमबार निधन भएको छ । दुई बर्ष अघि पक्षघात भई थलिएका उनको आज साँझ ८ वजे इलामको चुलाचुली १ हातिलेदास्थित आफनै निवासमा निधन भएको हो ।

झापाको विर्तामोडमा अवस्थित विर्तासिटी अस्पतालमा उनको उपचार भइरहेको थियो । तुम्बापोको पक्षघातसहित मुटु, नसा, निमोनिया लगायतका रोगले समेत पछिल्ला समय संक्रमण बनाएको थियो ।वि.सं. २००१ साल मंसिर १० गते बुबा काशिहाङ र आमा कौशिलाको कान्छा सुपुत्रको रुपमा पान्थरको फिदिम नगरपालिकाको चोकमागुमा जन्मिएका किरात धर्म गुरु तुम्बापो इलामको चुलाचुलीमा बस्दै आएका थिए । महागुरु फाल्गुनन्दको सद्मार्गलाई पछयाउदै आएका उनले विभिन्न मुन्धुमहरु मध्ये चम्जिक मुन्धुमका प्रखर मानिन्थे । गत वर्ष श्रीमती गुमाएका किरात धर्म गुरु ‘लाफायोङ्’ देव बहादुर तुम्बापोका १ छोरा १ छोरी रहेका छन् । किरात धर्मगुरु तुम्बापोले किरात धर्म, संस्कृति, संस्कार, भाषा लिपि संरक्षण, विकास र प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याउँदै आएका थिए ।
















