
तस्वीरः रेडियो तमोर ।
साइनो समाचारदाता
ताप्लेजुङ । शुक्रबार राति ताप्लेजुङ सदरमुकाम फुङलिङमा भएको आगलागीबाट ८ घर जलेर नष्ट भएको र आगलागीबाट ३२ परिवार प्रभावित भएको छ।
शनिबार बिहान संकलन भएको प्रारम्भिक विवरणअनुसार ८ घर परिवारसहित ती घरमा पसल, डेरागरी बस्ने ३२ परिवार विस्थापित बनेका छन् भने ५ वटा संघसंस्थाका कार्यालयमा क्षति पुगेको छ । करिब साढे १० बजेबाट सुरु भएको आगलागीले खेम केसी, नारायण भट्टराई, नेत्र कार्की, चन्द्र प्रसाद निरौला, ठगबहादुर कार्की, हस्तमाया लेछर्बो, रामकुमार शाह, विष्णु कार्कीको घर जलेको हो । जिल्ला फुटबल संघ, पाथीभरा ट्याक्सी काउण्टार, जिल्ला प्याब्सन, नेपाली कांग्रेस, अलैँची व्यवसायी संघ र वर्ल्ड मनि ट्रान्सफरका कार्यालयमा समेत क्षति पुगेको छ । आगलागीको कारण खुलेको छैन । आगलागी ३ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय आगलागी नियन्त्रणमा खटिएका थिए । साना होटल तथा पसलहरु जलेकाले अहिले नै क्षतिको विवरण संकलन भइनसकेको र अनुमानसमेत गर्न सकिने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । बैठकले क्षतिको विवरण संकलन गर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन पोखरेलको संयोजकत्वमा ४ सदस्यीय समितिको गठन गरेको छ । समितिले क्षतिको विवरण संकलन गरिरहेको छ ।

तस्वीरः प्रजिन हाङबाङ ।
राहत वितरण
आगलागी पीडितहरुलाई ताप्लेजुङ बहुद्देशीय सहकारी संस्थाले प्रतिपरिवार २ हजारका दरले राहत वितरण गरेको छ । यस्तै नेपाल रेडक्रस सोसाइटीले समेत राहत प्रदान गर्ने तयारी गरिरहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले भने क्षतिको पूर्णविवरण आइसकेपछि राहत उपलब्ध गराउने तयारी भएको जनाइएको छ ।
















