
साइनो समाचारदाता
काठमाडौं । सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेका बेला नेपालका केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको आरोप प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएका छन् । प्रधानमन्त्री ओलीले अन्तर्रा्ष्ट्रिय श्रमिक दिवसका अवसरमा जारी गरेको भिडियो सन्देशमा कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन भन्दै धम्कीपूर्ण भाषासमेत प्रयोग गरेका छन् ।
‘आज नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ,’ मे दिवसको अवसरमा जारी शसभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ । अर्का्तिर यही अफ्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थिरताका त्यस्ता प्रयासहरु गरिनु दुःख कुरा हो ।’
मे दिवससम्बन्धी सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आफ्ना स(साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु ।’‘सरकार र नेकपा कार्यकर्तालाई सैह्य नहुने’ धम्कीपूर्ण भाषा देशको कार्यकारी प्रमुखबाट प्रयोग भएको छ ।
पछिल्लो समयमा देश कोरोना महामारीविरुद्ध लडिरहेका बेला सरकारले स(साना स्वार्थका लागि राजनीतिक पार्टी फुटाउने अध्यादेश ल्याएपछि मुलुकमा राजनीतिक अस्थिरता सुरु भएको हो । कोरोना महामारीका बेला त्यस्तो बेमौसमी अध्यादेश सञ्चारमाध्यम वा सामाजिक सञ्जालले ल्याएको नभई प्रधानमन्त्री आफैंले ल्याएका हुन्, जसलाई सरकारले तत्कालै फिर्ता लियो । अध्यादेश फिर्ता लिइसकेपछि पनि कोरोना महामारीविरुद्ध केन्द्रित हुनुपर्नेमा सरकार र सत्तारुढ नेकपाका नेताहरु अहिले पनि देशलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने खेलमा लागिरहेका छन् ।जनतालाई लकडाउनलाई पालना गरेर बसिरहेका बेला सांसद सुरेन्द्र यादवलाई बेमौसममा रातारात काठमाडौं ओसार(पसार गर्ने काम प्रधानमन्त्रीकै निर्देशनमा नेकपा सांसहरुबाटै भएको हो ।
जनताले बहुमत दिएर सरकारमा पठाएका प्रधानमन्त्री स्वयं चुनाव हारेका व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पार्टीमा ल्याउँदैछन् । आम नेपाली जनता लकडाउन र आर्थिक संकटले इन्तु न चिन्तु बनेका बेला नेकपा सरकार आन्तरिक किचलोमा लागेर तामासा देखाउँदै बसिरहेको छ । तर, श्रमिक दिवसको बिहानीमा प्रधानमन्त्रीले दिएको सन्देशमा चाहिँ सञ्चारमाध्यम र सामाजिक सञ्जालले देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको लाञ्छना लगाउँदैछन् । अझ त्यो भन्दा अगाडि बढेर ‘सरकार र नेकपा कार्यकर्तालाई सैह्य नहुने’ धम्कीपूर्ण भाषा देशको कार्यकारी प्रमुखबाट प्रयोग भएको छ ।
प्रधानमन्त्रीबाटै यस्तो धम्कीको भाषा प्रयोग हुनु आश्चर्यजनक मात्र छैन, सञ्चारमाध्यम र अभिव्यक्तिको स्वतन्त्रतामाथि नै यसले प्रश्नचिन्ह खडा गरिदिएको छ । आखिर, ‘सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेका बेला’ नेपालमा राजनीतिक अस्थिरता कसले निम्त्याउँदैछ ? सरकार र सत्तारुढ नेकपाका नेताहरुले कि सञ्चार माध्यमले ? प्रधानमन्त्रीको सम्वोधनपछि यो बहसको विषय बन्न पुगेको छ ।
















