साइनो समचारदाता
काठमाडौं । सत्तारुढ नेकपा (नेकापा) ले सचिवालयको बैठक बुधबार ५ बजेका लागि बोलाएको छ ।
दुई अध्यादेश जारी गरेलगत्तै बढेको विवाद समाधानका लागि बैठक बस्दैछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीचको भेटपछि सचिवालयको बैठक बोलाइएको हो । यसअघि तत्काल देखिएको विवाद समाधान र सरकारको समीक्षाको विषयमा छलफल गर्न माग गर्दै अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल निकटका २० जना स्थायी समिति सदस्यहरुले बैठक बोलाउन दुवै अध्यक्षलाई पत्र बुझाएका थिए । यता सचिवालयको बैठकपछि स्थायी समितिको बैठक मिति तय हुने बताइएको छ ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजै बस्दैछ । गत चैत ११ गतेदेखि मुलुकभर लकडाउन लागू भएपछि काँग्रेसको केन्द्रीय समिति बैठक पहिलोपटक बस्न लागेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कोरोना भाइरसको रोकथाम र उपचारका सम्बन्धमा भएका कार्य तथा पार्टीले गर्नसक्ने योगदानका बारेमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । सरकारले ल्याएको दुई अध्यादेश जारी र फिर्ता पछि उत्पन्न राजनीतिक विषयमा पनि कांग्रेस बैठकमा छलफल हुने बताइएको छ ।
















