साइनो समाचारदाता
पथरी । नेपालमा ५१ जनामा कोरोना (कोभिड १९)को संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक प्रदेश नम्बर २ को वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । वीरगञ्ज महानगरपालिका ३ र १६ का दुबै ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारीमा संक्रमित पाइएको हो । अर्को संक्रमित सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएका पुरुष हुन् । उनलाई सम्भावित संक्रमितका रुपमा क्वारेन्टाइनमा राखिएको थियो । संक्रमणको पुष्टि भएपछि दुबैलाई नारायणी अस्पताल भर्ना गरिएको छ । मन्त्रालयका सह प्रबक्ता डा.समिर कुमार अधिकारीले संक्रमित मध्ये १२ निको भएर डिस्चार्ज भएको बताएका छन् ।

















