साइनो समाचारदाता
काठमाडौं । राजनीतिक दल विभाजन गराउने योजना बनाई सांसद अपहरण गरिएको घटना सार्वजनिक हुनुले विश्वसामु सम्पुर्ण नेपालीको शिर निहुरिने अवस्था सृजना भएको विद्यार्थी संगठनहरुले जनाएको छ ।
सबै राजनीतिक दल तथा सम्पुर्ण जनता एकतावद्ध भई कोरोना महामारी विरुद्ध लडिरहेको गम्भिर क्षणमा नेपाली राजनीतिलाई नै बदनाम गर्ने तथा लोकतन्त्रलाई कमजोर पार्ने अपराधिक तथा लज्जाजनक कार्यको विद्यार्थी संगठनहरुले घोर भत्र्सना गरेको हो । आज संयुक्त विज्ञप्ती जारी गर्दै ६ विद्यार्थी संगठनहरुले सांसदलाई जबर्जस्ती मानसिक दवाबदिने अपराधिक कार्यमा संलग्न सम्पुर्णलाई कानूनी कारवाहीको दायरामा ल्याई हदैसम्मको कारवाही गर्न सरकारसँग जोडदार माग गरेको छ । विज्ञप्तीमा भनिएको छ, राजनीतिलाई विकृत बनाई नेपाली जनतालाई राजनीतिक क्षेत्र प्रति नै वितृष्णा गराउने गरि घटाईएको यस अपहरण काण्डमा संलग्न रहेकाहरुलाई सरकारले कारवाही नगरे हामी आफैँ कारवाही गर्न बाध्य हुनेछौँ ।
नेपाल विद्यार्थी संघका अध्यक्ष राजिब ढुंगाना, समाजबादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझी, राष्ट्यि विद्यार्थी संघका अध्यक्ष मनिष मिश्र, राप्रवि संघ(संयुक्त) का अध्यक्ष धनुशर साही र अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरिञ्जीवी ढकालले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।

















