साइनो समाचारदाता
काठमाडौं । चारदिन अघि जारी गरेको दुई अध्यादेशको सर्वत्र आलोचना भएपछि अन्ततः सरकारले फिर्ता लिएको छ । राजनीतिक दल सम्बन्धी (दोस्रो सन्सोधन) अध्यादेश र संवैधानिक परिषद्(काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन्।
शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । निर्णयसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश खारेज गरेकी छिन् । यसअघि प्रमाणीकरण गरेको अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम खारेज गरेकी हुन् । यसअघि बिहीबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ६ जना सचिवालय सदस्यको भेलाले अध्यादेश फिर्ता लिनु पर्ने निष्कर्ष निकालेको थियो। भने प्रतिपक्षी दलहरु नेपाली कांग्रेस, तत्कालिन समाजबादी पाटी, राजपा र राप्रपाले कांग्रेस कार्यालय सानेपामा भेला भएर सरकारले अध्यादेश फिर्ता लिनुपर्ने र फिर्ता नलिए आन्दोलनमा उत्रिने विषयमा एकमत भएका थिए । ती दुई अध्यादेशले राजनीतिक दललाई विभाजन गर्न सजिलो हुने र संवैधानिक आयोगमा नियुक्ति गर्दा प्रमुख प्रतिपक्षी दलका नेतालाई बाहिर राख्ने भन्दै चर्को आलोचना भएको थियो।

















