साइनो समाचारदाता
पथरी । कोरोना संक्रमणका कारण लकडाउन पीडित जनतालाई राहत दिनका लागि पथरी शनिश्चरे नगरपालिकाको संयोजनमा तयार भएको राहत संकलन उपसमिति विघटन भएको प्रचार मिथ्या भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका प्रमुख दिलिप कुमार राईको संयोजकत्वमा राहत संकलन समिति निर्माण भएको थियो । समितिले काम चुस्त दुरुस्त गर्न सदस्य अर्जुन कुमार बुढाथोकीको संयोजकत्वमा १५ सदस्यीय राहत संकलन उपसमिति निर्माण गरेको थियो । समितिले काम गरि रहेको बेला केहि संचारकर्मी मित्रले सो समिति विघटन भएको विभिन्न संचार माध्यममा भ्रामक समाचार प्रचार भएपछि नगरपालिकाले आपत्ति जनाएको छ । संक्रमणको यो समयमा मूल समितिले राहत संकलनका लागि विभिन्न संघ, संंस्था निकायहरुसग समन्वय गर्नु पर्ने भएका कारण मूल समितिलाई सहयोग गर्न उप समिति निर्माण गरिएको नगर प्रमुख दिलिप कुमार राईले बताए । संक्रमणको घडीमा कोही प्रचारकहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि कुप्रचार गरेको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख राईले समितिले सामुहिक रुपमा राजीनामा दिएर र मूल समितिले आज बाट उप समितिको औचित्य समाप्त भयो भनेर निर्णय गरेर मात्र विघटन हुने भएको, दुवै प्रक्रिया अहिले सम्म नभएकाले विघटनको प्रचार मिथ्या भएको जनाए । संकलन समितिको संयोजकीय भुमिका नगर प्रमुखले र व्यवस्थापन वितरण समितिको संयोजकीय भुमिका उप–प्रमुखले गर्दै आएका छन् ।
समिति विघटनका बारेमा वजारमा आएको प्रचार भ्रामक रहेको नगर उप प्रमुख यमुना विष्टको पनि भनाई रहेको छ । गत चैत्र २९ गते गठन भएको उप समितिमा नगरका विभिन्न संघसस्थाको प्रतिनिधित्व रहेको छ ।


















