साइनो समाचारदाता
काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंगलबार एक प्रेस विज्ञप्ती जारी गदै अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘उक्त अध्यादेश लोकतन्त्र र संविधानको मर्म र भावनका प्रतिकूल हुनुका साथै देश र जनताको हितविरुद्ध पनि छन् । यसलाई सरकारले फिर्ता लिनुपर्छ ।’मन्त्रिपरिषद्ले पारित गरेको राजनीतिक दल सम्बन्धी (दोस्रो सन्सोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जारी गरेकी थिइन् ।
नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशितालाई धरापमा पार्ने र सिंगो मुलुकलाई नै द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने गरी अध्यादेश ल्याइएको अध्यक्ष यादवको भनाइ छ । समाजवादीले सरकारले लोकतन्त्र नै समाप्त पारी मुलुकलाई ठूलो दुर्घटनामा धकेल्ने गरी अध्यादेश ल्याएको जनाएको छ ।

















