√शिशिर निङलेकु लिम्बु थक्साङ
१. विषय प्रवेश :
छिमेकी मुलुक चीनको हुबेइ (Hubei) प्रान्तको राजधानी वुहान (Wuhan) शहरमा 1, December 2019 मा देखा परेको कोरोना भाइरस (COVID-19 ) को तीब्र फैलावट र यस रोगबाट हुन पुगेको मानवीय क्षतिको कारण आज विश्व नै स्तब्ध भएको छ । आफूलाई २१औँ शताब्दीको मसिहा (सिंह) ठान्ने देशहरूलाई समेत COVID-19 ले विकल्प विहीन तुल्याई दिएको छ । केवल १ घण्टाको समयावधिमा विश्वलाई कब्जा गर्न सक्ने तागत छ भनी डुक्री हुँकार लगाइरहेका देशहरूलाई COVID-19 ले करिब चार महिना अघिबाट उल्टै कब्जामा राखेको छ । COVID-19 ले विश्वलाई नै अघोषित रुपमा संकटकाल लगाई दिएको छ ।
COVID-19 को संकटकालको कारण स्वयमलाई पनि गएको एक साताबाट १५x१२ को कोठाभित्र सिमित पारिदिएको छ । यो बसाइलाई Self Quarantine or Isolation वा Lockdown जे नाम ले परिभाषित गरे पनि हुन्छ । यसरी घर बस्दाको समयमा धेरै मित्रहरूले ज्ञानमुलक किताब अध्ययन गर्नु भएको, कोहिले टिकटकमा राम्रो अभिनय गरी घर बसाइलाई रमाइलो बनाउने कोसिस गर्नु भएको त कसैले मिठो परिकार बनाई खानु भएको आदि इत्यादि खबर तिनै सामाजिक संजाल मार्फत थाहा भयो । तर, यो स्तम्भकार भने प्रस्तुत माथिका शिर्षकभन्दा बिलकुल फरक विधाको चिन्तनमा डुबेको छ । स्तम्भकारको मन मस्तिष्कमा गाउँको यादले खुब बेग हानिरहेको छ । किन हो कुन्नि जन्मिएको गाउँको सम्झना निक्कै नै आइरहेको छ ।
तेह्रथुम जिल्लाको फेदाप गा.पा., सिम्लेको पहिरे (थुक्वारा) गाउँलाई २०६० सालमा प्रवेशिका परीक्षा दिएसंगै छोडेको हुँ । गाउँ छोडेको ठ्याक्कै १७ वर्ष पुगेछ । छोडिआएको गाउँमा यो १७ वर्षको अवधिमा मुस्किलले आधा दर्जन चोटि पुगेको रहेछु । भौतिक शरीर आधा दर्जन पटक मात्र पुगे पनि कहिले कोया खोलाको यादमा, कहिले तरकारीको अभाबमा, कहिले बा-आमाको यादमा स्तम्भकारको मन भने धेरै पटक पुग्ने गरेको छ। गाउँ पुर्याउने थुप्रै यादहरूमध्ये अहिलेसम्ममा दुईवटा अवस्थाहरू चाहिँ सम्झिँदै आङ्सिरिङ् पार्ने यादहरू छन् ।
२. गाउँ सम्झिन बाध्य पार्ने पहिलो महा विपत्ति :
१२ वैशाख २०७२ तदनुसार २५ अप्रिल २०१५ मा गोर्खा जिल्लाको बारपाक क्षेत्रलाई ईपी सेन्टर बनाइ गएको ७.८ म्याग्निच्युट (Magnitude) को महाभूकप्प हो । ९,००० जना भन्दा बढीको ज्यान गएको २२,००० भन्दा बढी घाइते र दसौं हजार घरधुरीलाई घरबार बिहीन पारेको उक्त भूकम्प गएको बेला बेस्सरी नै गाउँको याद आएको थियो । विशेषगरी गोर्खा जिल्ला र काठमाडौँ, ललितपुर र भक्तपुर बस्ने मानिसहरूलाई गाउँको मायाले विछट्टै सताएको थियो । सयकडा तीनका दरले ऋण काडेर भएपनि महिनैपिच्छे तिरी बसेका कोठामा छिर्न मन लाग्दैन थियो । त्यो बेला, ती आरसीसी घरभन्दा खुला चौरनै सुरक्षित थिए । जीवनभरि दु;खगरी पैसा जम्मा गरेर घरबेटी बन्नु भएका घरबेटीबा पनि त्यो फोहोर चौरमा सुतेको बेला उनले (घरपेटी)पनि खूब गाउँको मिस गर्थे । भूकम्प, महामारी र खतरनाक “लू”हरूको कहरले गाउँलाई छाडी शहरलाई मात्र च्याप्छ भन्ने त होइन; तर भूकम्प र महामारीको बेला शहरभन्दा गाउँ तुलनात्मक सुरक्षित हुने गर्छ । अतः अक्सर मानिसहरू यो स्तम्भकार जस्तैगरी आपत-विपत परेको बेला आफ्नो गाउँलाई सम्झिन पुग्छन् । विश्व बैंकको २०१८ को डाटा अनुसार नेपालको कुल जनसंख्याको ८०.२६ प्रतिशत मानिसहरू गाउँमा बसोबास गर्दछन् । पछिल्लो तथ्यांक अनुसार गाउँबाट शहर बसाइँ सरी जानेको संख्या बढ्दो छ ।
३. गाउँबाट शहर बसाइँ सरी जानुको कारणहरू :
(क) खेतीपातीको लागि सिंचाईको अभाव हुँदै जानु ।
(ख) खाने पानीको अभाव हुनु ।
(ग) गुणस्तरीय शैक्षिक संस्थाहरूको पहुँच नहुनु ।
(घ) अधिक मात्रामा वैदेशिक रोजगारमा जानु पर्ने बाध्यता ।
(ङ) घट्दो जनसंख्या ।
(च) परम्परागत कृषि पेशामा पछिल्लो पिंढीको रुची कम हुनु ।
(छ) रेमिट्यान्सको असर ।
(ज) बढ्दो विलासी जीवन शैली ।
(झ) स्थानीय तहमा रोजगार सिर्जना नहुनु ।
(ञ) बेला बखत हुने आन्तरिक युद्द र द्वन्द्व ।
(ट) बाढी, पहिरो, आगलागी जस्ता दैविक प्रकोप ।
(ठ) छुवाछूत तथा विभेदयुक्त सामाजिक बनावट, आदि ।
४. गाउँ सम्झिन बाध्य पार्ने दोस्रो महाविपत्ति :
प्रस्तुत माथि उल्लेखित कोरोना भाइरस (COVID-19) को कारण गाउँबाट शहर छिरेका, स्वदेश छाडी अरु देश गएका र स्वदेश छाडी विदेशिएर बनीबुतो गरी जीविकोपार्जन गर्दै गरेका लाखौँ-लाख नेपाली श्रमिकहरू फेरि एक पटक आफ्नो गाउँलाई बेस्सरी सम्झिरहेका छन् । आफ्नो गाउँ फर्की जाने तरखरमा जुटिरहेका छन् । स्तम्भकारले यो आलेख तयार गर्दै गर्दा (अप्रिल १८, ०२:४०) सम्ममा COVID-19 द्वारा २२,५०,७०९ संग्क्रमित र १,५४,२५६ जनाको त ज्यान नै लिइसकेको तथ्याङ्क सार्वजनिक भएको छ । के रात, के दिन, कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ ।
५. मानिसहरू किन गाउँ फर्किन्छन् ? :
जब मानिसले आफू बसेको ठाउँमा आत्मघुलन र सुरक्षाको अनुभूति गर्न सक्दैन र मानिसका आधारभूत पक्ष (गाँस, बास, कपास र रोजगारी) को व्यवस्था गर्न सरकार असफल बन्छ तब मानिस गाउँ फर्किन्छन् । आफू जन्मेको गाउँले कोरोना भाइरस-१९ जस्ता महामारीहरूको उपचार गर्न त पक्कै सक्दैन तर गाउँमा जन्मेका मानिसहरूको आत्मिक र भावनात्मक उपचार भने अवश्य गाउँले जीवन र समाजले गर्दछ ।
६. संकटको बेला गाउँ जाने मानिस को-को हुन् ? :
जब शहरले मानिसलाई “गाउँ जाऊ” भन्छ तब एक थरी वा वर्गका मानिस (यसैमा जात र जाति पनि जोडिन सक्छ) मानिसलाई गाउँ जानुको अरु विकल्प नै हुँदैन । शहरमा भएका सामाजिक संरचना, स्रोत- साधन, पूँजी, खाद्यान्न, तत्कालीन अवस्थामा आवश्यक पर्ने थोकहरू सकिनु वा आफ्नो पहुँचमा नहुनु अर्थात नपाउनु नै शहरले “गाउँ जाऊ” भनेको हो । “देशको गाउँ-गाउँबाट काठमाडौँमा अध्ययन गरी खान, श्रम गरी खान वा कुनै अवसर छोप्न छिरेका युवाहरू धमाधम पहुँचले भ्याएसम्म गाउँ फर्किरहेका छन्” भनी मानवशास्त्री डा. डम्बर चेम्जोङ्ले भर्खरै नागरिक दैनिकमा भने । श्रमिक, डेरावाल र पहाड र शहर दुवैतिर घर भएका मानिसहरू यस खाले विपत्तिमा गाउँको घर जाने गर्दछन् ।
६.१ नेपाल भित्रको शहरहरूबाट गाउँ :
हाम्रो देशमा भएका शहरहरू के वास्तविक रुपमै शहर हुन् त ? शहरमा हुनुपर्ने आधारभूत पक्षहरू सबै तयार गरिएका छन् ? ती शहरमा बसोबास गर्ने आम आनिसलाई थेग्न (hold) गर्न सक्छ ? आदि पक्षहरूबारे मिहीन रूपमा केलाएर हेर्दा हाम्रो देश नेपालका शहरहरू साँच्चिकैका शहर बनिसकेका छैनन् । उदाहरणका लागि हेरौं :
काठमाडौँ शहर : काठमाडौँ एक प्राचीन सभ्यता बोकेको शहर थियो । काठमाडौँ शहरले त्यहाँको बासिन्दालाई आरामले थेगिरहेकै थियो । तर, जब स्थानीयभन्दा आप्रवासी (यहाँ बसाइ सरी काठमाडौँ आउने) को जनघनत्व बढेर गयो । तब काठमाडौँ शहरले शहरवासीलाई थेग्न सक्ने क्षमता (holding capacity) गुमायो ।
नागरिक दैनिकको लेखमै डा. डम्बर चेम्जोङ् थप लेख्नु हुन्छ, “शहरमा सबै आफ्ना जस्तो लाग्छन् तर खास आफ्नो भने कोही हुँदैनन् ।” शहरमा श्रमिक-डेरावालहरू र स्थानीयबीच अन्तरघुलन कम हुने गर्छ । काठमाडौँमा अधिक मात्रामा जनघनत्व बढ्नुको मुख्य कारण केन्द्रीकृत एकात्मक शासन प्रणाली हो । एकात्मक राज्य व्यवस्थाले अधिक पूँजी काठमाडौँमै मात्र लगायो, प्रविधि र प्रशासनिक कार्य आदि सबै काठमाडौँमै थुपार्याे । जसका कारण काठमाडौँ शहर शरीर मकिएको बृद्ध मानिस जस्तो बन्न पुग्यो ।
केन्द्रीकृत एकात्मक राज्यसत्ताले निर्माण गरेको अर्को प्राशासनिक शहर छ । उदाहरणका लागि धनकुटा बजार र पान्थरको फेदेन बजार आदि । यी शहर बनाउनलाई निर्माण भएका नै होइनन् । प्रशासनिक कार्य सम्पादन गर्ने, सामान्य किनमेल गर्ने र भेटघाट बैठक आदि गर्ने उद्देश्यले स्थान निर्माण गरिएका ठाउँ भएकाले त्यहाँ उपलब्ध मानिसहरूलाई थेग्ने कुरै भएन । त्यसैले आपत-विपत्तमा मानिसहरू गाउँ जान विवश हुन्छन् ।
अर्को चाँहि ठूला-ठूला राजमार्गहरू जोडिएर बन्न गएको शहर हुन्छ । उदाहरणका लागि बुटवल र इटहरी आदि । यी शहरहरू बिना पूर्वाधार ह्वात्तै आकार लिन पुगेका शहर हुन् जहाँ स्वास्थ्य, रोजगारको व्यवस्था र आपत् विपत्त थेग्न सक्ने पूर्वाधार केही हुँदैन । यात्रीहरूलाई खान खुवाउने क्रममा नै घरै घर बन्न जान्छ । अत: राजमार्गीय शहरहरूले पनि श्रमिक वर्ग र उच्च शिक्षा हासिल गर्दै गरेका युवाहरूलाई र गरिखाने जमातलाई थेग्न सक्दैन र गाउँ फर्किनुको विकल्प हुँदैन ।
६.२ देशबाट घर फिर्नु :
जब आफ्नो स्वदेशमा रोजी-रोटीको उचित ब्यबस्था हुँदैन तब श्रमिकहरू देशमा रोजगार गर्न जाने गर्छन् । देशमा रोजगार गर्नलाई पासपोर्टको आवश्यकता पर्दैन । नेपालका लागि रोजगारी देश भनेको भारत हो । भारत जानलाई राहदानी आवश्यक पर्दैन । त्यसैले, अति गरिब पनि रोजगार गर्न भारत जाने गर्छन् । तर, भारत त्यस्तो देश हो जहाँ गरिबीको संख्या अत्यधिक छ । महा विपत्ति हुँदा भारतले आफ्नो जनसंख्यालाई आफै नै थेग्न सक्दैन । त्यसैले नेपाली श्रमिकहरू भारतको श्रम बजारबाट निस्किनु पर्ने हुन्छ । त्यसैले ज्यानको बाजी नै राखी राखी महाकाली नदीमा पौडिएर नेपाल आउन जोखिम मोल्न बाध्य छन् ।
६.३ विदेशबाट स्वदेश फर्कनु :
एकाथरी श्रमिकहरू राहधानी बनाई विदेशमा गएर त्यस देशमा श्रम बेचिरहेका हुन्छन् । जुन दिन श्रम बिक्री हुन छोड्छ तब गाउँ फर्किनुको विकल्प नै छैन । COVID-19 को चापसँगै विश्वको श्रम बजार खुम्चिँदो अवस्थामा छ । विश्वको श्रम बजारमा नेपाली श्रमिकहरूको माग कटौती भएपछि नेपालको गाउँ फिर्नु नै अन्तिम विकल्प हो । हजारौ संख्यामा श्रमिकहरू स्वदेश नेपाल जानलाई आतुर रहेको अखबारहरूमा समाचार आइरहेको छ ।
७. निष्कर्ष :
यी तमाम समस्याको मुख्य जरो नेपालका कु-शासक र कु-शासन नै हो । यसका लागि नेपालमा शताब्दीयौंदेखि कु-शासन गरिरहेका कु-शासकहरूको गति र मति दुवैमा आमूल परिवर्तन हुनु पर्दछ । या त तिनीहरूलाई फेरिदिन सक्ने विवेक र हिम्मत न्यायप्रेमी नेपाली जनतामा हुनु पर्दछ । नेपालका शासकहरूले एकात्मक सोंचलाइ जरैबाट उखेलेर फाल्नु पर्छ । देशलाई १०+१ संघीय राज्यहरूमा रुपान्तर गरी तल्लो प्रदेश र स्थानीय सरकारहरूलाई अधिकार सम्पन्न गर्ने साहस गर्नु पर्दछ । पहाड र दुर्गम भेगका गाउँहरूमा वस्ती बस्न लायक बनाउनलाई सबै राजनीतिक दल लागिपर्नु पर्दछ । राहत र औषधीमा पनि भ्रष्टाचार गर्ने मति सुध्रिनु पर्दछ । नेपालको अति अभेग-विकट गाउँहरूमा पनि गाँस, बास, कपास र गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, सञ्चार र सामाजिक सुरक्षा आदिको उचित व्यवस्था गरी युवा पुस्तालाई पलायन हुनबाट रोक्न सके COVID-19 जस्तो महामारी रोग विश्वमा फैलिँदा अहिलेको जस्तो उधुम आपत पर्दैन थियो कि !
सिम्ले, फेदाप, तेह्रथुम हाल जापान
(नेपाली समाज जापानका उपाध्यक्ष समेत रहेका शिशिर निङलेकु लिम्बु थक्साङले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।
लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)